-सलोजा
पहाडको टुप्पोमा बसेर सुसाउदै बगेको खोली हेर्नुको मज्जा यहि आएपछि थाहा पाएँ । अझ पानीको जीवन्तता ! कति आनन्ददायी छ यो पानीको जीवन । खोलामा बग्दै गरेको पानी पहिले बगेको ठाँउमा पुग्नै पर्दैन । बग्यो त सकियो । ती गल्ली, गल्छीणाहरु विर्सदै बग्छ । एक पटक बगेर गएपछि कहिल्यै फर्कन नसक्नु उसको विवशता पनि हुन सक्छ । तर कति चाडै विर्सन्छ विगत । पानीले जस्तै मलाईपनि विगत विर्सन मन लागेको छ । कति रमाइलो हुन्थ्यो, ती यादहरु कहिल्यै नर्फकर्ने भइदिएको भए ।
तर जीन्दगी भुल्नै सक्दिँन । यादहरु दोहोरिदै दोहोरिदै आउँछन् । निरश लाग्छ । रहर, फूल्नु रमाउनुको बदलामा विगत निचोरिएर आफैमाथि परेपछि चह¥याउदो रहेछ ।
(बढीनै भावुक बने क्यार ।) डायरीमा लेख्दैगर्दा पुन सम्झिएँ । दुर गाँउमा बस्दा पढेको पुस्तकको ठेलीहरु, डिजिटल प्रविधिभन्दा बाहिरको संसार, धेरै डायरीहरु भरिएका छन् । कस्तो निश्चल सामीप्यता ! हिमाललाई नजिकबाट अनुभव गरेकी छुँ । पहाडको फेदबाट उडेको कुहिरो मेरो काखमा बसेर हराएको छ । खुल्ला चौरमा मयूर नाचेको त्यही देखेँ । आकास नजिकै औलो उठाएर छोएकी छु । जंगलको बीचमा बसेर चराको चीरविर चीरविरसंगै काफल खादाको क्षण कहिल्यै भुल्न सक्दिन । गाँउ सम्झिदैगर्दा शरीर केही हलुका भएको महसुस भयो ।
शहरीया परिवेशमा हुर्किएपनि गाँउले सुन्दरताका बारेमा आमाले भनेकी थिइन । त्यसैले बेलायतबाट काठमाडौ आएकी म एक्कासी त्यही दुर गाँउमा पुगेँ जहाँ मेरी आमा जन्मिएकी थिइन । आमा जन्मिएकै ठाँउमा पुगेरपनि मैले आमालाई महसुस गर्न सकिन । दुर गाउमा घुम्दै करिब एक महिनाको बसाई पछि पुन यही विरानो काठमाडौ फर्किएँ ।
आफन्तकोमा गएर सहानुभूतिको पात्र बन्न चाहन्नथेँ । त्यसैले अपनत्व र एकान्त खोज्दै म हुर्किएको घर फर्किएँ ।
बस्ती भित्रको सानो घर, आमाले हातमा समाउदै डुलाउने गर्थिन । रुदाँ त्यही छतमा बसेर आकाशका ताराहरु देखाएर फूल्याउथिन । डायरीका पन्नाहरु भरिदैथिए । एक पटक रोकिएँ । डायरी पल्टाएर हेरेँ । पुन बन्द गरेँ ।
आमालाई सम्झिदै छतमा उक्लिएँ र बसिरहेँ । बस्दा बस्दै साँझ परेछ ।
आकाशमा आमाले देखाउने ताराहरु उसैगरी आए तर आमा त्यहाँ पनि थिइनन । यी ताराहरुसंगै आमाको याद आउथ्यो ।
जहाँ पुगेपनि पिडापर्दाका साहारा जस्तै लाग्छन ताराहरु । तीनै ताराहेर्दे आमालाई धेरैकुराहरु सोधेकी थिए ।
कहिलेकाही दिक्क मान्थिन, तर मेरो प्रश्न सुनेर भित्र भित्रै हाँस्थिन पनि ।
उनलाई सम्झिदै गर्दा छतमै निदाएछु ।
विहानको घाम रापिलो भएर आखाँमा परेपछि जुरुक्क उठँे र कोठामा छिरेँ ।
पुन डायरी पल्टाएँ र लेख्न थालेँ ।
लेख्दैगर्दा अझ पुराना यादहरु ताजा बन्दै गए । नेपाल छोड्ने बेलामा आमाले धेरैबेर एकोहोरो मलाई हेरेर भनिन्, नानी धेरै टाढा जादै छस, केही सोध्नु छ भने सोध । उनी अलि भावुक बनेकी थिइन । आमा खुलेर नहाँसेपनि आखाँ टिलपिल पारेको पहिलोपटक देखेँ ।
अचम्म मान्दै आमालाई हेरिरहेँ । केही सम्झिए जस्तोगरी भनिन त नयाँ ठाउमा जादैछस । त्यसैले अलमल हुने होस की भनेर मात्र । नचिनेका मान्छे धेरै हुन्छन, चिनेको व्यक्ति भनेर पूरै विश्वास गर्नुअघि धेरैपटक सोच्नुपर्छ ।
उनले मेरो पढाई र भविस्य बाहेकको विषयमा यतिनै भनिन ।
त्यही बेलादेखि आमाको नजिकै बसेर, काखमा सुतेर, उनको शरीर सुम्सुम्याउदै उनले गरेका कुरा आजसम्म सुनेकी छैन । मैले पुन उनलाई नमिठोगरी सम्झिएँ ।
आमालाई सम्झिदाँ मलाई फूलमायाको याद आयो ।
जिल्ला घुम्दै जादाँ लिखु खोलाको तिरमा भेटिएकी फूलमाया । उसले बसालेको संसार, तीन छोरा छोरीकी एक्ली आमा । आर्मी व्यारेक संगै राखेको चिया पसल, त्यँही पाएको उपहार रहेछन तीन सन्तान ।
मेरो घरमा जस्तै फुलमायाकोमा पनि बच्चाको बाबु देखिनँ । आमालाई कहिल्यै बाबुका बारेमा नसोधेकी मैले फूलमायालाई सोधेँ ।
यी छोरा छोरी कस्का हुन?
मेरा, (उ गर्व गरेर भन्छे ।) मैले जन्माए, मैले हुर्काए । हरेक आवास्यक्ताहरु मैले पुरा गर्नुपर्छ । ८ बर्ष देखि १२ बर्ष सम्मका तीन छोराछोरी पछि उनीहरुका बाबुहरु त्यहाँबाट व्यारेक सरेछन । अहिले सम्म फर्किएनन ।
फूलमायाले जुठो ग्लास माझ्दै भनिन ‘उनीहरु आउनु र नआउनुको अर्थ हुदैन । मलाई आवास्यक्ता पनि छैन । छोराछोरीलाई बाबु पल्टन सरेका छन भन्दिन्छु । पल्टनमा त जे पनि हुन्छ नी । त्यस्तै भयो ।’
फूलमायाले त्यही ठाँउमा चियापसल राखेकी थिइन । बाटोमा ओहोर दोहोर गर्नेहरुका लागि विसउनी बनेको छ । हामीलेपनि घुम्दै जादाँ चिया पसलसंगै फूलमायालाई भेटेका थियौ ।
लिखु खोलामा माछा मार्दे विहान बेलुकाको छाक पुर्याउनु दुई छोराको दैनिकी हो । छोरी सानै थिई । साथीहरुलाई छोडेर तीन दिन सम्म लिखुकै किनारमा बसेँ ।
मलाई रमाउनु थियो । म जस्तै, बाबु विनाका, फूलमायाले जन्माएका सन्तानका बारेमा जान्नु थियो । तीन दिनसम्म उनको पसलमा बसेपछि फूलमाया क्रमश खुल्दै गइन । जसरी आर्मी उनको पसलमा आउदाँ खुल्थीन ।
मैले उनलाई सोधेँ, छोरा छोरी कसरी जन्मिए? अनि कसका हुन?
उनले अप्ठ्यारो नमानी भनिन । ‘व्यारेक वालाकै हुन, तर कुनका हुन भनेर भन्न सक्दिन । एक जनाका हुन भनेर अर्कोलाई अन्याय गर्दिन । एकैरात धेरैजनासंग बिताएकी थिएँ । त्यस मध्यनै कसैको हुनुपर्छ ।’
फेरि सोधेँ, तपाई त्यसबेला खुसी हुनुहुन्थ्यो?
‘हो, उनीहरुलाई जतिकै आनन्द मलाई पनि आएको थियो ।’ उनको अनुहारमा कुनै ग्लानि थिएन । निस्फिक्री भन्दै थिइन, ‘उनीहरुलेनै पहिलोपटक मेरो चियापसल बनाईदिएका हुन । चाहिने सामान पनि उनीहरुलेनै जोडिदिए । तीनीहरु नभएका भए न मायालु छोराछोरी पाउथेँ, न यो चियापसल ।’ उनले खिस्स हाँस्दै भनिन ।
एक पटक आफैलाई सम्झिएँ । संयोग जु¥यो भने यी बालबालिकालेपनि कुनैदिन मैलेजस्तै पत्रिकामा आफ्ना बाबुको नाम र तस्वीर हेर्नुपर्ने छ ।
३ महिना अघि देखि झोलामा जतनले राखेको त्यही पत्रिका निकालेर हेरेँ । बाबुको तस्वीर सहितको समाचार थियो । मैले कहिल्यै कल्पना सम्म गर्न नसकेको मेरो बाबुको अनुहार पनि त्यही पत्रिकामा देखेकी थिएँ ।
बेलायतमा बसेर पढ्दै गरेकी मैले क्याम्पस टप गरेपछि मात्र थाहापाएँ, मेरा बाबुका बारेमा । आमा मनकी रोगी रहिछन्, उनको मृत्यु होइन आत्महत्या रहेछ । त्यो पत्रकार जसले मैले जिन्दगीभरि थाहा नपाएको आफ्नै कटु यथार्थ पत्रिकाको पहिलो पृष्ठमा बाबुको तस्वीर सहित छापीदियो । त्यसपछि छताछुल्ल भएर हिडेकी म फूलमायाका सन्तान देखेपछि अर्को एकपटक चिसिएँ ।
त्यही समाचार पढेपछि कहिल्यै खुलेर हाँस्न नसकेकी आफ्नी आमालाई सम्झिएँ । उनी किन खुलेर हास्दिनथिन ? सायद मैले उनको अनुहार पढ्ने कोसीस गरिन । यो पत्रकारको जतिपनि ।
उनीभित्रका धेरै विषय बुझ्ने कोसीस गरिनँ । मैले एसएलसी दिएको बर्ष आमाले धेरैपटक उनको कोठामा बोलाएर केही नभनी फर्काएकी थिइन । सायद कोठामा बोलाउनुको कारण भन्न कर गरेको भए आमाले अवस्य भन्थिन होला ।
उनलाई छोड्दा १६ बर्षकी किशोरी थिएँ । त्यसबेला सम्म पनि बाबुका बारेमा बुझ्न खोजिन र आमाले पनि भनिनन । नत्र यति धेरै विछिप्न हुुनुपर्ने थिएन । २६ बर्षकी म बाबुको खोजीमा छु । (डायरीमा पोखिइरहेँ ।)
विगत दिक्क लाग्दो छ । (डायरी बन्द गरेँ ।)
घर भित्र छिरेर आमाको दराज खोलेँ । आमालेपनि पहिले यसैगरी डायरी लेख्ने गर्थिन । दराजभरि, खातै खात डायरी हेरेँ ।
आफैलाई चिन्नु थियो । त्यसैले आमाको दराजमा पुराना डायरी खोजेँ । ठूलो मोटो डायरी, डायरीको सुरुमै झरनाको दृस्यसंगै अस्पष्ट व्यक्तिको छायाँ जस्तै तस्वीर थियो । तस्वीर नजिकै एउटा चिर्कटोमा लेखिएको थियो ‘म छोरी चाहन्छु ।’
अर्को पन्नामा आमा रुदै गरेको तस्वीर रहेछ, तस्वीरको तल केही खाली ठाउ छोडिएको । पन्ना पल्टाउदै गएँ, डायरीको माथिनै लेखेको थियो,
‘प्रेममा बलात्कार र युद्धमा अन्तरघात अस्वीकार्य हुन्छ ।’
आमाको डायरीमा कालो मसीले यसरी लेखिएको थियो । ‘२२ बर्षकी मैले प्रेम गरँे, त्यहीप्रेमीबाट बलात्कार भएकी अभागी युवती हुँ । उसलाई माया गरिरहँे, तर माफ गर्न सकिनँ ।’ त्यसपछि अस्पष्ट अक्षर, बुझ्नै गाह्रो भयो ।
आमाको डायरी हेरेपछि पत्रिकामा छापिएको समाचार पुनः एकपटक पढेँ । त्यो पत्रकार प्रति केही विश्वास लाग्यो । अब उसलाई भेटेर सम्पूर्ण कुरा बुझ्नु थियो ।
पुनः दराज खोलेँ आमाको हस्ताक्षर भएको खाम रहेछ ।
उनले मलाईनै संबोधन गर्दै लेखेकी रहिछन् ।
नानी सक्छेस भने मलाई माफ गर । तलाई बाबुको मायाबाट बञ्चित गरेँ । म उसलाई स्वीकारर्न सक्दिनथेँ र तलाई भन्न पनि ।
मैले सहास र विद्रोह गरेर तलाइ जन्माएँ, तर पनि समाजमा टिक्ट धेरै गाह्रो छ ।
त सानै थिइस त्यसैले बाचेकी थिए । अब तँ पनि सक्षम भइसकेकी छस ।
धेरै अघिदेखिनै जीन्दगी बोझ लाग्न थालिसकेको थियो । गर्भमा त छस भन्ने थाहापाएपछि आत्महत्या गर्दा अर्कौ हत्या हुने ठानेर बाचेकी थिए । अब बाच्ने रहर पनि छैन । तेरो पलनपोषण देखि सम्पूर्ण खर्चको व्यवस्था गरीसकेकी छु ।
तेरोबाबु कुनै बलात्कारी पुरुष हो । उ आजै छुट्दै छ रे । उ र म एउटै खुल्ला आकाश मुनी बस्न सक्दैनौ । त्यसैले कायरहरुले रोज्ने सहासीक बाटो आत्महत्यालाई नै स्वीकारे ।
तैले अहिलेसम्म नदेखेको तेरो बाबुलाई भेट्न चाहन्छेस भने त्यसमा पनि मेरो विमती रहने छैन ।
आमाले यतीनै लेखेकी रहिछन् ।
बाबु भेट्ने चाहनाले त्यही पत्रकार खोज्न थालेँ । दुइदिन पछि उससंग भेट भयो ।
उससंग मैले बाबु भेट्ने चाहना व्यक्त गरेँ ।
कसरी भयो यो सब? मैले फूलमायालाई सोधे झै उसलेपनि मलाई सवाल गर्न थाल्यो ।
विरामी आमालाई छोडेर विदेश हानिएँ । उनको मृत्युको खबर मैले पढ्ैगरेको क्याम्पसमा पाएकी थिएँ । मृत्यु अघि लेखिएको डायरीमा नेपाल नफर्कनु भन्ने इच्छा व्यक्त गरिएको आमाको हस्ताक्षर सहितको पत्र स्क्यान गरेर मामाले पठाएको इमेल मार्फत पाएँ । आमाकै इच्छा अनुशार कहिल्यै नेपाल नफर्कने सोचमा थिए ।
बोल्दै गर्दा बीचैमा रोकेर सोध्यो, तपाई, बाबु भेट्न चाहनुहुन्छ ?
‘हो’ को संकेत गर्दै मैले टाउको हल्लाएँ ।
उसले मोटरसाईकल स्टाट ग¥यो । म चुपचाप उसको पछाडी बसेँ ।
टिनले छाएको, टिनकै ढोका भएको सानो घरमा पुगेर ढकढकायो । तिलचामले भएपनि झ्याप्प दाह्री पालेको, बर्को ओढेको बुढो मान्छे बाहिर निस्कियो र एकतमासले हेर्न थाल्यो ।
पत्रकार चुपचाप थियो, तर उसका आखाँ बोलिरहेझै गतिशील थिए ।
सानो स्वरले भन्यो । तपाईको चाहना पुरा गर्न सकेँ ।
त्यसो भन्ने साथ त्यो बुढो ठूलो स्वरमा चिच्यायो, इना भन्दै गल्याम्म अंगालो हाल्यो र रुन थाल्यो ।
बर्षौ बोल्न नपाएझै चिच्याउदै बोल्यो । मैले तिम्रि आमालाई बलात्कार गरेँ र जिन्दगीभरि पिडा दिइरहेँ । त्यही पश्चतापको आगोँमा जलेको छँु । उनीसंग माफ माग्न लायक थिइन र आट गरिनँ । म जेलबाट छुटेको थाहापाएकै दिन उनले आत्महत्या गरिछन् । उनले आत्महत्या गर्ने थाह पाएको भए म जेलबाहिर आउने नै थिइन । भक्कानिदै उनी रोइरहे ।
आमाले उनको अंगालोमा कहिल्यै यति न्यायोपनको महसुस गरिन गरिनन । तर म आनन्द मान्दै मेरो बलात्कारी बाबुको अंगालोमा सुकसुकाउन थालेँ ।