Friday, May 24, 2013

क्रिसमसमा पोखरा र म

प्रिय इलिया ।
म पानी बन्न सकिन । हिमाल र पहाडको आकृति उतार्दै निश्छल बग्न सकिन । भाडाको रङ्ग र आकृतिलाइ पछ्याउदै अरुले खनेको खाल्डोमा जम्न सक्दिन । आफ्नै पइला मेट्दै हिड्न सक्दिन ।
हरेक रङ्गको भाडोमा मिलेर आकृति बदल्न सकिन । म पानी बन्न सकिन त्यसैले त तिम्रो चाहनाको संसारमा रम्न सकिन ।
फेवातालको बीचमा छु ।
बीचबाट मैले देख्ने पहाड र हिमालको दृश्य, तिमीले सोचेको भन्दा उत्कृष्ट हुनुपर्छ । तिमीले पढ्ने पुस्तक र हेर्ने तस्विरले यो सुन्दरतालाई पूर्ण कैद गर्न सक्दैन होला । पातले छाँगोबाट पानीको बाफसंगै उडेको हावा हिमालको काख हुदै टुप्पोमा स्पर्श गरेर बजार डुल्न आइपुग्छ । शब्दमा बुनिएको सुन्दरतामा नै आनन्द प्राप्तगर्नेहरुका लागि यो स्वर्गीय आनन्द भन्दा कम छैन ।

हामी चढेको डुङ्गा चलाउदै गरेको किशोर गीत गाउनमा मस्त छ । परिश्रम गरेर नथाक्ने हात चलाए पनि, मनको रहर र सपना आँखासम्म ल्याउदै त्यही आँखाले फेवातालमा देखिएको अन्नपूर्णको छाँया हेर्छ र प्रेमगीत गाँउछ ।
टाउकोमा हिमाल बोकेर आनन्द बसेको पोखरा, त्यही हिमाललाई स्पर्श गर्दै आएको चिसो तर प्रिय हावाले मेरो गालामा भर्खरै चुमेर सहर पसेको छ ।
मध्यदिनको घाम पनि फेवाको बीचमा सयर गर्न हतार गर्दै आयो । यो घामले तिम्रो सन्देश बोकेको हुनुपर्छ । तर हाँसी मात्र रह्यो । घाम रमाउदै गर्दा पानी स्वर्णिम चम्कियो । तालमा ढलपल—ढलपल पानीको जवानी छचल्कियो । हामी चढेको डुङ्गापनि हल्लियो ।
एकनासले त्यही सुनौलो पानी हेर्दै थिएँ । चुपचाप मुस्कुराउँदै फर्कियो घाम ।
घाम फर्कनासाथ माझीदाइले फेवातालमा जाल विछ्याउन थाले । भोलीको छाक टार्नु छ, छोराछोरीको जाडो ढाक्नु छ । आफ्नै कालीको लागि भर्खरै बजारमा आएको नयाँ स्टाइलको टिसर्ट र पेन्ट खरिद गर्नु छ ।
नीलो रङ्गको डुङ्गा खियाउदै आएका माझीदाइ हाम्रो नजिकैबाट सपनाले भरिएका आँखा लिएर फर्किए ।
इलिया π
तिमीले महसुस गर्न सक्छ्यौ ती आँखाहरु । तिम्रो देशका सपनाले भरिएका आँखा भन्दा कम छैनन । छिमेकीलाई नदुख्नेगरि अन्नपूर्णको छाँयामा चम्किला देखिएका सपनाहरु ।
क्रिसमसको साँझ ! लेकसाइडमा ताराहरु चम्किएका छन् । पारी क्षीतिजबाट जून उज्यालो बाल्दै छ ।  संसार बुझ्न घर छोडेर निस्किएको एक जोडी, चोकमा छुट्टै संसार सजाउन मस्त छन् ।
आफ्नै सुरमा छन, लेकसाइडका होटल, चोटा र कोठाहरु । आफ्नै संसारमा मस्त जोडीहरुलाई देख्दा अन्नपूर्ण र माछापुच्छे« पनि लोभिएको हुनुपर्छ ।
मधुरो प्रकाश π
एक हुल बर्दीधारी सुरक्षाकर्मीहरु, मेरो नजिकैबाट अघि बढेँ ।
रोक्दा रोक्दै निस्किए झै एउटा बोल्यो, मुर्गी एक्लै रहिछ । त्यसमध्यका केही हाँस्न थाले ।
कमाण्डर कड्कियो ।
को बोलेको हो ? फेरि शान्त भयो समय ।
उनीहरु अघि बढे ।
मेरो लागि नयाँ अनुभव थियो, पोखरामा क्रिसमसको साँझ । झपक्कै सिंगारिएको लेकसाइड, मधुरो प्रकाशमा उत्तेजित झै लाग्थ्यो ।
अर्को एकजोडी मेरै अगाडी आएर बस्यो । केटाको खुट्टाले जमीनमा राम्ररी टेक्न सकेको थिएन । केटीको कपाल मुसार्दै भन्यो, ‘जिन्दगी ज्यूँने हो सानु । खुसीहरु साट्दै ज्यूनुपर्छ, मरेर लानु के छ र ? ’ ऊ हाँस्यो ।
केटाको शरीरमा लिपिक्कै टाँसिएकी केटी लरबरिएको स्वरमा बोली ‘ज्यूने हो, आज तैले पनि जिइस् मैले पनि जिएँ । जिन्दगीको स्वाद लिदै ज्यूँनुपर्छ काले ।’ दुवैजना मज्जाले हाँसे ।
भीडभाड पोखरामा एक्लै थिएँ म । एक्लोपनाको महसुस भने भएन । उनीहरुको जस्तो जिन्दगीको मज्जा पनि थिएन । तर नयाँ अनुभव संगाल्दै कोठातिर लागेँ ।
प्रिय इलिया,
जवानी बढेको पोखराको बैसालु मन फक्रिएको छ ।
तिमीले धेरैअघि आफ्नै जवानीको महत्व नबुझ्ने भन्दै गाली गरेकी थियौ । हो म जस्तै पोखराले पनि आफ्नो बैश बढेको भेउ पाएको छैन । नत्र किन हाँसीरहन्थ्यो जोडी विनाको पोखरा ?
तिमी परिवारका साथ क्रिसमसको मज्जा लिइरहेकी छौ । तिम्रो प्रेमीभन्दा पनि प्रिय बनेको छ स्वदेशमा मनाउने क्रिसमस ।
म एक्लै होटलमा फर्किएँ । गेट नजिकैको बगैचामा एक जोडी अर्को संसार बनाउदै रहेछन्, त्यही संसारको दर्शक बनेको थियो गार्ड ।
होटलको गेटबाट भित्र छिर्दै गर्दा गार्डलार्ई सोधेँ ।
‘तपाइको घर कहाँ हो ?’
‘गाँउतिर पर्छ हजुर ।’
‘आज क्रिसमस मनाउनु भएन ?’
‘मनाईरहेकै छु नी ?’ त्यही जोडी तर्फ फर्किएर बोल्यो ।
उदास आँखाले मलाई हेरेर औपचारिकता निर्वाह गर्दै फिस्स हाँस्यो । ओठबाट बनावटी मुस्कान हट्नुअघिनै उसको अनुहार केही मलिन देखियो ।
म प्रतिक्रिया विहिन । कोठातिर लागेँ ।
पोखराको काखमा पहिलो क्रिसमस π
तिमीले भनेजस्तै म रहर बेगरकी मान्छे । मेरो चाहना क्रिसमस मनाउनु थिएन ।
मलाई यो संसारमा रमाउनेहरुको आँखा पढ्नु थियो । त्यसैले विहानको घाम  फेवातालमा झर्नु अगाडी म सहर छिरेँ ।
एक्लै गल्ली—गल्ली हुदै खुल्ला चौरमा पुगेर बसेँ ।
चौरमा एक समूह शब्दसागरबाट प्रभावकारी शब्दहरु निकालेर गफिदै रहेछन् । मेरो लागि पूरा परिचित हुन नसकेको पोखरामा भरिभराउ थिए मान्छेहरु ।
सबै आ—आफ्नै सुरमा ।
समूहको एक जनाले भूइँमा हेर्दै बोल्यो ।
‘जोसंग जुन कला छ त्यसैलाई प्रदर्शन गर्ने त हो नी ?’ ऊ झन अपरिचित थियो ।
केलाई इङ्कित गरिरहेको थियो ? बोलेको प्रसंग त मैले बुझिन तर उसको कुरा सत्य लाग्यो ।
एक्ली म त्यही समूहतिर सर्दै थिएँ ।
मैले उसको कुरामा सही थाप्नु अगाडीनै उठेर हिडिसकेको रहेछ ।
केहीबेरपछि म पनि उठेर हिडेँ ।
साँझमा सजिएको पोखरा, घाम उदाएसंगै फेरिएको थियो ।
बजार हुदै फेवातालसम्म आएँ । हिजोको किशोरलाई देखिन । तर ती माझीदाइ, एक जोडीलाई डुङ्गामा राखेर घुमाउन हिडे ।
हिजो बेलुका आफ्नै संसारमा रमाइरहेको माछालाई जालमा पारेर सुखद जिन्दगीको कल्पना गर्ने माझीदाइ भर्खरै बिहे गरेर आफ्नो सुनौलो भविश्यको कल्पना गर्ने जोडीलाई मन्दिर घुमाउन थाले । उनको आँखा उतिकै रहरले भरिएका थिए ।
त्यहाँबाट फर्किएर पुनः बजारकै बाटो हुदै आफै बसेको होटलसम्म आइपुगेँ ।
यो साँझ पोखरा छोड्नु छ । तिम्रो रहरको चाड, क्रिसमस मनाउन आएकाहरु धेरैले पोखरा छोडे ।
रहर र सपनाको आश्रयस्थल बनेको पोखरालाई एकसाँझ तताएर बर्षौदेखि एक्लै बनाईएको छ ।
माछापुच्छे« फेवातालसम्म आउँछ र फर्किन्छ । सेतीनदी आफ्नो बाटोमा बग्छ । पोखराको काखमा बसेर धेरैले सपना देखे, सपना पूरा गरे ।
काखमा बसेर रमाउनेहरुसंग पोखरा कति रमायो त ? कसैले बुझ्यो कि ? तर मैले बुझिन ।
इलिया,
सरङकोटको डाँडाबाट प्याराग्लार्ईडिड गर्नेहरुको भीडमा तिम्रो प्रेमीले आकास हेर्दै टोलाएको याद आयो । म एक्लै, नेपाल घुम्न आएको तिम्रो प्रेमी एक्लै, मेरो लागि विरानो देशमा तिमी एक्लै र भीडभाड जम्मा भएर रमाउनेहरुको बीचमा पोखरा एक्लै ।
लेखनाथ आइपुगेपछि एकपटक पोखरालाई फर्किएर हेरेँ, निराश भएर पोखराले हात हल्लाउदै भन्यो, अर्को सालको क्रिसमसमा म जस्तै एक्लै नहुनु है ।
पोखराले हात हल्लाउदै थियो, अन्नपूर्ण उतिकै मुस्कुराइरह्यो ।

1 comment:

  1. The sport will display whether you've won any winnings and provide the option to keep taking part 카지노사이트 in

    ReplyDelete